कंचनपुर - कृष्णपुर नगरपालिका-१ बंक-बुडर-नायल सडकखण्डमा पर्ने ओदाल खोला पुल निर्माण अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि ढिलाइ हुँदै आएको पुल निर्माण अन्तिम चरणमा पुगेको हो।
ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए। उनका अनुसार ओदाल खोला पुल निर्माणका लागि २०७३ भदौ १७ गते ५ करोड ४७ लाखमा २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो।
तर, समयमै काम सम्पन्न गर्न नसकेपछि पुलको म्याद पटक-पटक थपिँदै आएको छ। ओदाल खोलाको पुल तोकिएको समयमा सम्पन्न हुन नसकेकाले ठेकेदार कम्पनीमाथि १० प्रतिशत जरिवाना (हजर्ना) लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए।
‘पुलको सब–स्ट्रक्चर, सुपरस्ट्रक्चर र तटबन्ध निर्माण पूरा भइसकेको छ,’ उनले भने, ‘हाल पहुँच मार्ग निर्माण पूरा हुन बाँकी रहेको छ।’ ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर रहेको छ। पुल आधुनिक प्री-स्ट्रेस्ड प्रविधिमा निर्माण भइरहेको छ।
वित्तीय हिसाबले हेर्दा ओदाल खोलाको पुलको प्रगति ४ करोड ५२ लाख रहेको छ भने त्यसमा १० प्रतिशत हजर्ना असुल उपर गरिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुल तोकिएको अवधिभित्र सम्पन्न हुन नसके पनि अहिले तीव्रगतिमा काम भइरहेको जनाइएको छ।
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा लामो समयदेखि सास्ती खेपिरहेका थिए। विशेषगरी बर्खाको समयमा खोला तर्ने जोखिम बढ्ने र आवतजावतमा कठिनाइ हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।
कृष्णपुर नगरपालिका-१ का स्थानीय बासिन्दा गयाप्रसाद चौधरीले भने, ‘बर्षौंदेखि खोला तर्नुपर्ने अबस्था थियो, वर्षातका बेला गाउँ सम्म एम्बुलेन्स आउन नपाउँदा बिरामीलाई जोखिम मोल्दै पिठयुमा बोकेर खोला तार्नु पर्ने अबस्था थियो, ढिलै भएपनि स्थायी पुल बनेपछि सहज हुने भयो।’
पुल सञ्चालनमा आएपछि स्थानीय यातायात, व्यापार र कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ। यो सँगै बंक-बुडर–नायल सडकखण्डका बासिन्दाले नदी तर्नु पर्ने लामो समय देखिको समस्या समाधान हुनेमा आशा व्यक्त गरेका छन्।
सडक डिभिजन कार्यालयले बाँकी रहेका पहुँच मार्ग तथा फिनिसिङ कार्य छिटो सम्पन्न गरी पुललाई चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। (साभार:-सत्यदृश्य डटकमबाट)