बाँके २५ कार्तिक – श्री १००८ हडिया बाबा आश्रममा आयोजित मेलामा साधुसन्तहरुलाई आँखा कानको निःशुल्क शिविर आयोजना मंगलबार सम्पन्न भएको छ । गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपालगन्ज , नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त आयोजनामा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको थियो ।
मेलामा उपस्थित रहेका करिब ८ सय साधुसन्त, महत्माहरुलाई निःशुल्क शिविरमा चेकजाँच गरिएको गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदिप शाहले जानकारी गराएका छन् ।
उनका अनुसार शिविरमा चेकजाँच गराएका साधुसन्त, महत्माहरुलाई जटिल रहेका र शल्यक्रिया गर्नु परेका सबै निःशुल्क रहने संरक्षक शाहले बताएका छन् ।
साधुसन्त, महत्माहरुलाई कान र आँखाको जटिल समस्या देखा परेको छ जसले गर्दा शल्यक्रिया गर्न करिब २० देखि ३० हजारसम्म खर्च आउने भएपनि सबै निःशुल्क रहेको आयोजक टिमले जानकारी दिएको छ ।
विगत लामो समय देखि नि:शुल्क शिविर चल्दै आएको हडिया बाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले जानकारी दिए ।
श्री १००८ हडिया बाबा आश्रममा कार्तिक र्पुणिमादेखि लाग्ने यो मेला करिब ५ दिनसम्म चल्ने र मेलामा आएका साधुसन्त, महत्माहरुलाई हरेक बर्ष स्वास्थय शिविर लगायत विभिन्न सेवाहरु दिंदै आएको सदस्य श्रीवास्तावले जानकारी दिए ।
मेलामा नेपालको बाँके, बर्दिया, दांग, कैलालीलगायत छिमेकी मित्र राष्ट्र भारतबाट समेत साधुसन्त, महत्माहरु आउने गरेको उनले जानकारी गराए ।
श्री १००८ हडिया बाबा मेलामा आएका साधुसन्त, महत्माहरुलाई लिएर नगरपरिक्रमा गराउने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिएका छन् ।
मेलामा उपस्थित भएका साधुसन्त, महत्माहरुको आँखामा मोतिया बिन्दु र कानमा बढी फोहोर भएको कारणले सुन्ने क्षमता कम भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
उमेर बढी भएको कारण सरसफाईमा ध्यान नदिने र खानपानमा कमि भएको कारणले यो समस्या आएको चिकित्सकले जनाएका छन् ।
मेलामा उपस्थित साधुसन्त, महत्माहरुलाई हरेक समयमा खाना नास्तालगायतको उचित व्यवस्थापन गरिनुका साथै बिदाईको बेला कम्बल, दक्षिणा आदिको राम्रो व्यवस्था गरिएको र बास बस्नका लागि पनि श्री १००८ हडिया बाबा आश्रम मै व्यवस्था समेत आयोजक टिमले गरेको छ ।